म तिमीलाई माया गर्थे
July 8, 2018
रमेश रमेश ए रमेश
मलाई त होइन ? हो कि ! फर्केर हेरे हो रहेछ ।
स्मृति रहिछे । के छ तिम्रो हालखबर ? कता हरायौ ह ? स्याँस्याँ गर्दै प्रश्न फ्याँक्न भ्याइच्छे
म टोलाई रहे। अचम्म छ ! ऊ बिना बाँच्न सक्दिनँ भन्दै रुन्थे। फोटो मात्रै कति हेर्थे हेर्थे। आज आफ्नै सामु छ। भावना फरक, समय फरक, नभेटेकै बर्षौ भइसक्यो। सोच्दैछु आखिर मायाँ भनेको के हो ह? कति मायाँ गर्थे यसलाई!! आज सुन्य भावना।
खै के हो किन बोल्दैनौ ?
तिमी त अर्कै भएछौ !!!
ला आफै भित्र पो हराएछु।
के छ स्मृति ? मेरो त सब ठिकै छ। के गर्दै छौ आजकाल?
खै के के भनी कुन्नि कसले ध्यान दियो र! टाउको मात्र हल्लाई रहे। त्यो दिनको घटना काहा भुल्न सक्छु र, कति खुशी हुँदै गाको थिए यसलाई भेट्न। हलुका मन लिई गाको थिए भारी लिई फर्किए। हाँस्दै गाको थिए रुँदै फर्किए। लै गीत नै पो भयो कि क्याहो?
मुख मात्रै चलेको देख्छु, ध्यान आफैमा हराएछ। अन्त्यमा तिमी के गर्दै छौ आजकाल भनेको सुने? अगाडि कुनै प्रश्न जोडेकी पो थिई की!! ह्या मलाई के मतलब के सुने त्यति को मात्रै उत्तर दिन्छु।
के हुनु र उही पुरानो नै त हो।
क्या दामी उत्तर पो दिए त !! आफैले आफैलाई भर्चुअल धाप नै मारे!!! बर्षौ भो नभेटेको के गर्दै छौ भन्दा उही पुरानो रे। उत्तर चै गजब कै हो। मुस्कुराउन पो पुगेछु। उसले फेरि खै के भन्दै रहिछे। ध्यान देको भा पो!! उसकै कुरामा मुस्कुराएको जस्तै मानिछे जस्तो छ। ऊ पनि मुसुक्क पो हाँस्छे त!!
बिमल को हालखवर कस्तो छ त ?
ठिकै हुनुहुन्छ।
हुनुहुन्छ। बल्ल पो पहिरनमा ध्यान गयो त !! सिउँदो मा सिन्दुर। कुर्था सुरवाल। हातमा सुनको बाला। कमाएछ ट्नै मोरो ले। बिहेनै गरिछे जस्तो छ बिमल सँग।
अफिस को कामले काठमाडौं भन्दा बाहिर हुनुहुन्छ। तिमीलाई भेटेको भन्दा कस्तो खुशी हुनुहुन्छ होला। बिहेमा बोलाउन कति सम्पर्क गर्न खोजे, केही गरी पत्तो लागेको होइन। साँच्चै कता हराएको ह तिमी ? एस्तो पनि कसैले गर्छ। त्यस्तो मिल्ने साथी हामी।
के भन्नु उसलाई। म उसको साथीमा मात्र सीमित हुन चाहादिन थिए। मलाई त उसको हुनु थियो उसलाई मेरो बनाउनु थियो। आफ्नै अगाडि अरूको भएको काहा देख्न सक्थे र, हराए त्यसैले बिहानीको सित जस्तै। आफू अनुकूल को वातावरण देखिन बाफ भए हावामै विलीन भए।
कति पछि देखिएकी छे। अफ्टेरो नै पर्ने गरी प्रश्न सोध्छे। कस्तो प्रश्न फेरि उत्तर त छ तर भन्न सक्दिन। कसरी भन्ने खै आफ्नै भाउजुलाई। साथीकी बुडिलाई भाउजुनै त भन्छन् क्यारे। म तिमीलाई मायाँ गर्थे !!!